ओली–बालेन प्रतिस्पर्धाले तातेको झापा–५: साढे १० बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।
यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। दुई प्रमुख नेताबीचको प्रतिस्पर्धाका कारण झापा–५ यसपटकको निर्वाचनमा सबैभन्दा चासोका साथ हेरिएको क्षेत्रमध्ये एक बनेको छ।
निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको जनाएको छ। सुरक्षाकर्मीको पर्याप्त व्यवस्थासहित मतदान केन्द्रहरूमा मतदाताहरू शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्।












