निर्वाचनका दिन हवाई यात्रुका लागि नेपाल पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा

काठमाडौँ । निर्वाचनका दिन सवारीसाधन सञ्चालनमा हुन सक्ने असहजतालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्ड ले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आवागमन सहज बनाउन निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ।
बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको हो। उक्त सेवा बिहान ५ बजेदेखि सुरु भई बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
निर्वाचनका दिन सवारी सञ्चालनमा हुन सक्ने सम्भावित समस्या ध्यानमा राख्दै पर्यटक तथा हवाई यात्रुको यात्रा सहज बनाउन सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ। सटल बसहरू तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछन्।












