मतदान शान्तिपूर्ण बनाउन गृहमन्त्री अर्यालको उपत्यकामा अनुगमन

२१ फाल्गुन २०८२, बिहीबार १६:५५

काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।

अर्यालले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा उनले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माध्यमिक विद्यालय, काठमाडौंको तारकेश्वरस्थित नागार्जुन माध्यमिक विद्यालय र पृथ्वीनारायण माध्यमिक विद्यालय, बालुवाटारस्थित श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेका थिए।

अनुगमन टोलीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी तथा गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेसहितका अधिकारीहरू सहभागी थिए।

यस क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर केन्द्रीय निर्वाचन सेलको पनि निरीक्षण गरेका थिए।

मतदान स्थलको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा भइरहेको बताए। उनले छिटपुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिए।

अनुगमनपछि गृहमन्त्री अर्याल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचन सुरक्षाबारे ब्रिफिङ गरेका थिए। निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्रालयले कन्ट्रोल रुममार्फत सबै निर्वाचन क्षेत्रको निरन्तर अनुगमन गरिरहेको पनि उनले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*