जेलबाट दुर्गा प्रसाईंको कडा चेतावनीः पश्चिमाले थोपरेको चुनाव अमान्य

काठमाडौं । गत आइतबार पक्राउ परेर हाल हिरासतमा रहेको दुर्गा प्रसाईंले जेलभित्रै बाट कडा चेतावनी दिएका छन्। उनले फागुन २१ गते सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै पश्चिमाले थोपरेको चुनाव अमान्य हुने चेतावनी दिएका हुन्।
“ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित सर्वाेच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह ७५ जना बालबालिकाको ज्यान मार्ने अवस्था सिर्जना गर्ने र खर्बाैंको सम्पत्ति नष्ट गर्ने गिरोहहरूले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन।” उलने कडा शब्दमा चेतावनी दिएका छन्।
उनले अगाडि लेखेका छन्, “आज भ्रष्ट ठगहरूले जितेको र देशले हारेको कालो दिन हो।” उनले आफू राष्ट्रवादी भएकै कारण सरकार डराएर आफूलाई थुनेको आरोप लगाएका छन् भने आफूलाई थुनेर गरेको यो चुनावको हिसाब किताब गर्ने चेतावनी पनि जेलभित्रबाटै दिएका छन्।
दुर्गा प्रसाईंलाई निर्वाचन विथोल्न गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयको ५ दिनको अनुमति लिएर हाल उनलाई हिरासतमा राखिएको छ। दुर्गा प्रसाईंले निर्वाचनको विरोध गर्दै आएका थिए।












