श्रम संस्कृति पार्टीले खोल्यो खाता, २ स्थानमा अग्रता कायमै

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अन्ततः खाता खोलेको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार २१ वर्षीय आरेन राई खोटाङ क्षेत्र नम्बर १ मा विजयी भएका हुन्।
खोटाङ–१ मा श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का उम्मेदवार आरेन राई १६ हजार ६१२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।
पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि सुनसरी क्षेत्र नम्बर १ मा विजयन्मुख दिशामा अघि बढिरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार हर्क साम्पाङले ३१ हजार २४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ९०८ मत प्राप्त गरेकी छन् अर्थात यस क्षेत्रमा हर्क साम्पाङको जीत सुनिश्चित भएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीका ४३ वर्षीय उम्मदेवार ध्रुवराज राई भोजपुर क्षेत्र नम्बर १ मा १२ हजार १३४ मत सहित अग्रता गरिरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेयरधन राई १० हजार ७४५ मत सहित पछ्याइरहेका छन्। यस पार्टीले हालसम्म समानुपातिकतर्फ ४७ हजार २४२ मत पाएको छ।












