रविलाई प्रधानमन्त्री नबनाए सदनमा बबाल गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुने लगभग निश्चित भएका हर्क साम्पाङले प्रधानमन्त्री रवि लामिछानेलाई नबनाए सदनमा बबाल गर्ने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबूकमा एक पोष्ट लेख्दै “जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैछ।” भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा जानुअघि देखि नै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। बालेन शाह प्रधानमन्त्री बन्ने भएरै रास्वपाको पक्षमा जनलहर उर्लिएको कतिपयको विश्लेषण छ। तर मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका हर्क साम्पाङले बालेनलाई प्रधानमन्त्री नबनाउन सीधै चेतावनी दिएका छन्।
हर्क साम्पाङ नेतृत्वको पार्टीले १ सिट जितिसकेको छ भने हर्क साम्पाङको १ सिट सुनिश्चित छ भने उनका अर्का एकजना उम्मेदवार एक स्थानमा अग्रतामा छन्। यस्तोमा कम्तीमा पनि २ सिट सहित सदनमा जाने निश्चित भएका हर्क साम्पाङले आधिकारिक रूपमा निर्वाचित नहुँदै रास्वपालाई चेतावनी दिएका हुन्।
बालेन खासै नबोल्ने भएकाले सदनमा उत्तर दिन नसक्ने भन्दै उनले रवि लामिछानेलाई आफैं प्रधानमन्त्री बन्न हर्कले सुझाव दिएका हुन्। तर रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको कारण उनी निलम्बनमै रहनेछन् जसकारण सांसदको रूपमा शपथ ग्रहणसम्म गर्न नपाउने अवस्थामा छन्।












