जेनजी आन्दोलनबारे तयार गरिएको कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीको हातमा

काठमाडौँ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौमा भएको जेनजी आन्दोलनका घटनाबारे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीहरू उपस्थित थिए। उक्त प्रतिवेदन करिब ८ देखि १० हजार पेजको रहेको जनाइएको छ ।

भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले आयोग गठन गरेको थियो। आयोगलाई प्रारम्भमा एक महिना, त्यसपछि २० दिन र तेस्रो पटक २५ दिन म्याद थप गरिएको थियो। अन्तिम थपिएको म्याद सकिन एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो।

असोज ५ गते गठन गरिएको तीन सदस्यीय आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका थिए। आयोगका अन्य सदस्यमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका थिए।
भदौ अन्तिम सातामा दुई दिन चलेको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका थिए। सरकारी प्रतिवेदन अनुसार ती घटनामा करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ।
जाँचबुझका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित तत्कालीन निजामती र सुरक्षा निकायका प्रमुख तथा फिल्डमा खटिएकाहरुसँग बयान लिएको थियो ।












