रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोग ले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले सो निर्णयअनुसार आइतबार धनुषा जिल्ला क्षेत्र नं. १ का निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको जनाएको छ।
आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीका अनुसार धनुषा–१ को मत परिणाम घोषणा नगर्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइएको हो।
आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको जनाएको थियो।
उक्त निर्णयविरुद्ध मुद्दा दायर भई सर्वोच्च अदालत मा विचाराधीन रहेको छ। अदालतबाट अन्तिम आदेश नआएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ।
आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई त्यसको जानकारी आयोगलाई दिन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ पठाइएको शाखा अधिकृत अधिकारीले जानकारी दिए।













