रास्वपाको बहुमतले पुँजी बजारमा उत्साहः यी कारण आउनेछ मार्केटमा बुल !

२४ फाल्गुन २०८२, आईतवार १७:४४

काठमाडौँ । पाँच दिनको अन्तरालपछि नेपाली पूँजी बजार भोलिदेखि पुनः खुल्दैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण फागुन २० गतेदेखि बन्द रहेको शेयर बजार फागुन २५ गतेदेखि नियमित कारोबारमा फर्किन लागेको हो । चुनावअघि उल्लेखनीय उकालो लागेको बजार अब झन् ठूलो उत्साहका साथ नयाँ यात्रामा अघि बढ्ने विश्वास लगानीकर्ताबीच देखिएको छ ।

निर्वाचन परिणामले सिर्जना गरेको राजनीतिक परिदृश्यले बजारमा सकारात्मक मनोविज्ञान निर्माण गरेको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत हासिल गरेको छ भने दुई तिहाइ नजिक पुग्ने सम्भावना पनि देखिएको छ । विगतका वर्षहरूमा बारम्बार सरकार परिवर्तन, गठबन्धनको अस्थिरता र नीतिगत अन्योलका कारण दबाबमा परेको पूँजी बजार अब भने स्थायीतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

नेपालको पूँजी बजार विगत केही वर्षदेखि राजनीतिक अस्थिरताको प्रभावबाट मुक्त हुन सकेको थिएन । पटक–पटक सरकार परिवर्तन हुँदा आर्थिक नीतिमा निरन्तरता कमजोर हुने, बजेट कार्यान्वयनमा ढिलाइ हुने र दीर्घकालीन सुधारका कार्यक्रम अधुरै रहने अवस्था देखिँदै आएको थियो । यस्तो परिस्थितिले लगानीकर्तामा अनिश्चितता बढाएको थियो । जोखिम लिन हिच्किचाहट बढेको थियो र बजार ‘पर्ख र हेर’ रणनीतिमा सीमित भएको थियो ।

राजनीतिक स्थिरता पूँजी बजारका लागि सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक मानिन्छ । जब सरकार स्थिर हुन्छ, नीति निर्माण र कार्यान्वयनमा स्पष्टता आउँछ । आर्थिक सुधारका कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउन सकिन्छ । यही कारणले विश्वका धेरै मुलुकमा राजनीतिक स्थिरता कायम भएका बेला पूँजी बजारले उल्लेखनीय वृद्धि गरेको देखिन्छ ।

नेपालमा भने यसअघि राजनीतिक अस्थिरताका कारण आर्थिक नीतिहरू बारम्बार परिवर्तन हुने गरेका थिए । सरकारले ल्याएका कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन हुन नपाउँदै अर्को सरकार बन्ने अवस्था देखिन्थ्यो । यसले निजी क्षेत्र र लगानीकर्तामा दीर्घकालीन योजना बनाउने आत्मविश्वास कमजोर बनाएको थियो । पूँजी बजार पनि यसैको प्रत्यक्ष प्रभावबाट अछुतो रहन सकेन ।

तर अहिलेको निर्वाचन परिणामले त्यो चक्र तोडिने अपेक्षा गरिएको छ । स्पष्ट बहुमतसहित सरकार बन्ने भएपछि नीति निरन्तरताको सम्भावना बढाएको छ । यही कारणले लगानीकर्ताहरू बजारमा सकारात्मक वातावरण बन्ने अपेक्षामा छन् ।

पछिल्लो समय पूँजी बजारका लागि नीतिगत वातावरण धेरै अनुकूल बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा केही लचकता अपनाएको छ । ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको छ भने बैंकिङ प्रणालीमा तरलता पर्याप्त देखिएको छ । यी सबै तत्वहरू शेयर बजारका लागि आधारभूत रूपमा सकारात्मक मानिन्छन् । थप यसमा राजनीति स्थायी पाएसँगै अब बजारले नयाँ बुलको यात्रा तय गर्ने देखिएको हो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना घोषणापत्रमार्फत पूँजी बजार सुधारलाई प्राथमिकता दिएको छ । विशेषगरी आफ्नो घोषणापत्रमा पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ । सय बुँदे घोषणापत्र सार्वजनिक गरेको उक्त दलले ३३औँ बुँदामा पूँजी बजार सुधारसम्बन्धी विस्तृत योजना समेटेको छ ।

घोषणापत्रअनुसार धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी नियामक निकायको संरचना पुनर्गठन गरिने योजना उल्लेख गरिएको छ । धितोपत्र बोर्डलाई पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि र आवश्यक स्वायत्तता प्रदान गरिने प्रतिबद्धता गरिएको छ । नियामक निकाय बलियो भएमा बजारमा पारदर्शिता र विश्वास बढ्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ । यी संस्थाहरूमा निजी क्षेत्रको शेयर सहभागिता बढाउने लक्ष्य राखिएको छ । यसले बजार सञ्चालनमा प्रतिस्पर्धात्मक दक्षता र प्रविधिमैत्री सेवाको विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजनाले पूँजी बजार पूर्वाधारमा निजी लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने संकेत दिएको छ । बजारको आधारभूत संरचना बलियो नभएसम्म दीर्घकालीन रूपमा पूँजी बजारको विकास सम्भव हुँदैन भन्ने बुझाइ नीति निर्माताहरूमा बढ्दै गएको देखिन्छ । घोषणापत्रमा बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न स्पष्ट कानुनी संरचना र कडा नियमन लागू गरिने उल्लेख गरिएको छ । इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने बताइएको छ । यसले साना तथा खुद्रा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने लक्ष्य राखेको देखिन्छ ।

यसका साथै आधुनिक वित्तीय उपकरणहरू क्रमशः सुरु गर्ने योजना पनि प्रस्तुत गरिएको छ । इन्डेक्स कारोबार, सर्ट सेलिङ, फ्युचर्स र अप्सनजस्ता डेरिभेटिभ उपकरणहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यस्ता उपकरणहरूले बजारको गहिराइ बढाउने, जोखिम व्यवस्थापनका विकल्प विस्तार गर्ने र संस्थागत लगानीकर्ताको सहभागिता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच भावी अर्थमन्त्री को बन्छन् भन्ने विषय पनि लगानीकर्ताबीच चर्चा भइरहेको छ । सम्भावित रूपमा स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउन सक्ने चर्चा चलिरहेको छ । उनी अर्थशास्त्रका जानकार र बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने व्यक्तिका रूपमा परिचित भएकाले लगानीकर्ताले सकारात्मक नीति आउने अपेक्षा गरेका छन् ।

शेयर बजारमा मनोवैज्ञानिक पक्ष अत्यन्त महत्वपूर्ण हुन्छ । पूँजी बजार मूलतः अपेक्षा र विश्वासको खेल हो । कहिलेकाहीँ साना राजनीतिक वक्तव्यले पनि बजारमा ठूलो उतारचढाव ल्याउने गरेको छ । राजनीतिक नेतृत्व वा नियामक निकायका प्रतिनिधिको एक अभिव्यक्तिले लगानीकर्ताको आत्मविश्वासमा ठूलो प्रभाव पार्न सक्छ । त्यसैले निर्वाचनपछि स्पष्ट, जिम्मेवार र स्थिर सन्देश दिनु सरकारका लागि महत्वपूर्ण हुनेछ । अनावश्यक विवाद, अस्पष्ट अभिव्यक्ति वा नीतिगत अन्योलले बजारलाई पुनः अस्थिर बनाउने जोखिम रहन्छ ।

हाल देशको समग्र आर्थिक अवस्था पनि क्रमशः सुधारोन्मुख संकेत देखाइरहेको छ । ब्याजदर घट्दो क्रममा रहेको छ, रेमिट्यान्स प्रवाह स्थिर देखिएको छ र बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध छ । यी सबै तत्वहरूले लगानीको वातावरण बनाइरहेका छन् । यी आधारहरूमा राजनीतिक स्थायित्व समेत थपिएको छ । जसले बजारलाई अब बुलको यात्रा तय गर्ने बाटो खुला भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*