राजनीतिक स्थिरताको आशा मार्केटमाः ३ पटक सर्किट ब्रेक लाग्दा कारोबार बन्द, अझै यी कारणले आउनेछ बुल!

२५ फाल्गुन २०८२, सोमबार १२:०८

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै तीव्र उकालो लागेपछि दिनमै तीन पटक सर्किट ब्रेक लाग्दै अन्ततः आजका लागि कारोबार पूर्ण रूपमा बन्द भएको हो ।

बजार खुलेको झण्डै एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि पुनः कारोबार सुरु भएको केही क्षणमै बजारले अर्को उकालो समात्दै दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो पटक सर्किट लागेपछि नियमअनुसार ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । तर, त्यसपछि खुलेको बजारले फेरि तीव्र गति समातेपछि अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लाग्यो र दिनभरका लागि कारोबार बन्द गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६२.९३ अकंले बढेर २८७५.४३ बिन्दुमा कायम भएको छ । आज २ मिनेट मात्रै खुलेको बजारमा २६१ कम्पनीको ११ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लागू गरिएको सर्किट ब्रेक प्रणालीअनुसार बजार खुलेको एक घण्टाभित्र परिसूचक ४ प्रतिशतले बढेमा २० मिनेटका लागि कारोबार रोकिन्छ। त्यस्तै दुई घण्टाभित्र परिसूचक ५ प्रतिशतले बढेमा ४० मिनेटका लागि कारोबार बन्द हुन्छ भने ६ प्रतिशतले बढेमा सो दिनको सम्पूर्ण कारोबार स्थगित गरिन्छ ।

पछिल्लो समय शेयर बजार लगातार राजनीतिक अस्थिरताको प्रभावमा परेको थियो । सरकार परिवर्तनको श्रृंखला, नीतिगत अनिश्चितता तथा आर्थिक निर्णयहरूमा देखिएको ढिलासुस्तीले लगानीकर्तामा अन्योलता बढाएको थियो । बजारका आधारभूत सूचकहरू अनुकूल हुँदा हुँदै पनि राजनीतिक वातावरणका कारण पूँजी बजारले अपेक्षित गति लिन सकेको थिएन । तर हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनले नयाँ राजनीतिक समीकरण निर्माण गरेको छ । विशेषगरी निर्वाचन परिणामले स्थायी सरकार बन्ने भएसँगै लगानीकर्तामा नयाँ आशा पलाएको देखिन्छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेको छ। यसले राजनीतिक स्थायित्वको सम्भावना बढाएको भन्दै बजारमा सकारात्मक मनोविज्ञान निर्माण भएको विश्लेषण गरिएको छ । दीर्घकालीन रूपमा स्थिर सरकार बन्ने अपेक्षाले लगानीकर्तामा नीति निरन्तरता रहने विश्वास बढाएको छ । यही विश्वासले बजार खुलेको केही मिनेटमै खरिदकर्ताको चाप अत्यधिक बढेको देखिएको हो ।

अर्थतन्त्रका अन्य सूचकहरू पनि हाल शेयर बजारका लागि अनुकूल बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकले हालैको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा केही लचकता अपनाएको छ । यसले पूँजी बजारमा लगानी प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ । त्यस्तै बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको अवस्था छ भने ब्याजदर क्रमशः घट्दो क्रममा रहेको छ। उच्च ब्याजदरका कारण केही वर्षदेखि दबाबमा रहेको शेयर बजारका लागि ब्याजदरमा आएको गिरावटलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।

पूँजी बजारको दीर्घकालीन प्रवृत्ति निर्धारण गर्न राजनीतिक स्थिरता, ब्याजदरको अवस्था, तरलता र नीतिगत वातावरण मुख्य कारक मानिन्छन् । हाल यी चारै पक्ष क्रमशः सकारात्मक दिशातर्फ उन्मुख देखिएकाले बजारमा नयाँ उत्साह देखिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमार्फत पूँजी बजार सुधारलाई प्राथमिकतामा राखेको विषयले पनि लगानीकर्तामा सकारात्मक अपेक्षा बढाएको छ। घोषणापत्रमा पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने प्रतिबद्धता जनाइएको छ। बजारमा हुने भित्री कारोबार नियन्त्रण, नियामकीय प्रणाली सुदृढीकरण, लगानीकर्ताको संरक्षण तथा प्रविधिमैत्री बजार संरचना विकास गर्ने योजना अघि सारिएको छ। यस्ता नीतिगत प्रतिबद्धताले पूँजी बजारको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास लगानीकर्तामा देखिएको छ।

आगामी दिनमा पनि राजनीतिक घटनाक्रम, मौद्रिक नीति तथा आर्थिक सूचकहरूको अवस्थाले शेयर बजारको दिशा निर्धारण गर्नेछ । यद्यपि हाल देखिएको उत्साहलाई स्थायित्व दिन नीतिगत सुधार, पारदर्शिता तथा नियामकीय सुदृढीकरण आवश्यक छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*