स्याङ्जामा मतदान गर्न आएका फरार तीन प्रतिवादी पक्राउ

काठमाडौँ । स्याङ्जामा विभिन्न आपराधिक मुद्दामा फरार रहेका तीन जना प्रतिवादी मतदान गर्न आएका बेला पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत २१ गते ४० वर्षीय प्रेमबहादुर दर्जी, ५८ वर्षीय बुद्धिमान शाही र ७४ वर्षीय रामबहादुर कामी पक्राउ परेका हुन्। उनीहरू मतदान गर्न आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरू क्रमशः कर्तव्य ज्यान, बैंकिङ कसुर र बहुविवाहसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार रहेका उनीहरू मतदानका लागि उपस्थित भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई सोमबार कैद भुक्तान तथा जरिवाना असुलीका लागि जिल्ला अदालत स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।












