मध्यपूर्व तनावको असर: कुवेतमा भिजिट भिसामा रहेका सबै विदेशीको भिसा एक महिना थप

२५ फाल्गुन २०८२, सोमबार १८:१०

काठमाडौँ । कुवेत सरकारले भिजिट भिसामा रहेका नेपालीसहित सबै विदेशी नागरिकको भिसा एक महिनाका लागि स्वतः थप गर्ने निर्णय गरेको छ। क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि यस्तो निर्णय गरिएको हो।

अमेरिका र इजरायल बीचको तनाव तथा इरान सँगको द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा हवाई उडानमा अवरोध उत्पन्न भएपछि कुवेत सरकारले अस्थायी रूपमा भिसा अवधि थप गर्ने व्यवस्था गरेको हो।

कुवेतस्थित नेपाली दूतावास कुवेत ले जारी गरेको विज्ञप्तिअनुसार कुवेतमा भिजिट भिसामा रहेका सबै विदेशी नागरिकको भिसा एक महिनाका लागि थप गरिएको छ। साथै, कुवेतबाहिर रहेका कुवेतको सिभिल आईडी वाहकहरूको हकमा पनि विशेष व्यवस्था गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार कुवेत बाहिर रहेका र विगतमा कम्पनीमा कार्यरत व्यक्तिहरूले ६ महिनाभन्दा बढी तथा घरेलु कामदारहरूले ४ महिनाभन्दा बढी समय कुवेत बाहिर बस्दा सिभिल आईडी वा आवासीय अनुमति (रेसिडेन्सी) स्वतः रद्द हुने व्यवस्था रहेकोमा हालको असाधारण परिस्थितिलाई ध्यानमा राख्दै उक्त अवधिमा थप तीन महिनाको समय प्रदान गरिएको छ।

दूतावासले यसरी थप गरिएको अवधि २०२६ फेब्रुअरी २८ देखि लागू भएको जानकारी दिएको छ। साथै अन्य सबै प्रकारका भिसा वाहकहरूले आफ्नो भिसा अवधि समाप्त हुनुअघि सम्बन्धित रोजगारदातासँग सम्पर्क गरी समयमै भिसा नवीकरण गर्न पनि आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*