शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र २ लाख २२ हजार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरिसकेको छ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १९ लाख ९७ हजार ७७८ कित्तामध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि र ४४ हजार ४०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
सर्वसाधारणले आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले “ईक्रा एनपी इस्यूअर रेटिङ डबल बी” रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीले यो रेटिङ गत मंसिर २५ गते पाएको हो भने आगामी मंसिर २४ गतेसम्म रेटिङ बहाल रहनेछ।












