पुँजी बजारमा भारी गिरावटः कारोबार भने साढे २१ अर्ब, वास्तविक राताम्य कि कित्ता खोस्ने चलखेल ?

२६ फाल्गुन २०८२, मंगलवार १५:११

काठमाडौँ। शेयर बजारमा सोमबारको भारी गिरावट आएको छ । सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज राताम्य बनेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाईको सरकार बन्ने पक्का भएपछि सोमबार राजनीतिक स्थिरताको असर बजारमा देखिएको थियो । तर, उक्त बुल एक दिन पनि टिक्न नपाउँदै बजार पुनः ओरालोमा गएको छ ।

धेरै लगानीकर्ताले बजारमा आएको उच्च मूल्यमा नाफा बुक गर्ने क्रम सुरु भएको बताइरहेका छन् । कतिपयले ठूला लगानीकर्ताले साना लगानीकर्ताबाट कित्ता खोस्ने काम भइरहेको आलोचना पनि गरेका छन् । तथापि, बजारका लागि आवश्यक नीति सकारात्मक रहेको र अब राजनीतिक अस्थिरता हट्ने भएकाले दिगो रूपमा बजार बुलको मार्गमा अघि बढ्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

स्थायी सरकार बनेपछि बजारमा थप वृद्धि देखिने सम्भावना रहेको छ। त्यसैले अहिले उपयुक्त कम्पनीमा सोच–विचार गरेर लगानी गर्ने समय रहेको उनीहरूको तर्क छ। बजारमा देखिएको अहिलेको गिरावटलाई बजार करेक्सनको रूपमा लिन सकिने र यसले दीर्घकालीन वृद्धि सम्भावनालाई बलियो बनाउने विश्वास उनीहरूले व्यक्त गरेका छन्। अघिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताका कारण बारम्बार दबाबमा परेको शेयर बजारले हालको स्थिर सरकारसँगै नयाँ उर्जा पाउने अपेक्षा राखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज कारोबार रकम भने निकै उच्च हुन पुगेको छ । लगानीकर्ता शेयर खरिद गर्दै भित्रिनेको संख्या बढ्दै गएको देखिएको हो । आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य बनेका छन् । आज फाइनान्स समूहको २.०६ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, वाणिज्य बैंक समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ५ कम्पनीको भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*