सुर्खेतमा बलात्कारपछि १६ वर्षीया किशोरीको हत्या
२६ फाल्गुन २०८२, मंगलवार १६:२०

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो ।
पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो ।
इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगतै उनलाई प्रदेश अस्पताल कालागाउँमा पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए पश्चात प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।












