मध्यपूर्व युद्धको असर भारतमा: ग्यास आपूर्ति कडाइ, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिम

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध देखिन थालेपछि भारत सरकारले प्राकृतिक ग्यास तथा खाना पकाउने ग्यासको वितरणमा कडाइ गरेको छ। सरकारको नयाँ व्यवस्थापछि देशभरका रेस्टुरेन्ट र होटल व्यवसायमा असर पर्ने सम्भावना देखिएको छ।
भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो। तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता र खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो। भारतले प्रयोग गर्ने एलएनजी र एलपिजीको ठूलो हिस्सा मध्यपूर्वबाट आयात हुने गरेको छ।
पेट्रोलियम मन्त्रालयले मंगलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार उपलब्ध ग्यासलाई प्राथमिकता प्राप्त क्षेत्रहरूमा समान रूपमा वितरण गर्दै निरन्तर आपूर्ति कायम राख्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो।
सरकारले घरपरिवार, यातायात क्षेत्र तथा एलपिजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिने निर्णय गरेको छ। त्यसबाहेक मल कारखाना र चिया उद्योगजस्ता अन्य क्षेत्रलाई उपलब्धताको आधारमा आवश्यकताको करिब ७० देखि ८० प्रतिशत मात्रै ग्यास उपलब्ध गराइने व्यवस्था गरिएको छ।
आपूर्ति सन्तुलन कायम राख्न पेट्रोकेमिकल उद्योग तथा विद्युत् उत्पादन केन्द्रहरूलाई दिइने ग्यास पूर्ण वा आंशिक रूपमा कटौती गरिने मन्त्रालयले जनाएको छ। यसअघि नै ग्यास आपूर्तिमा कमी आउन थालेको भन्दै केही उद्योगहरूले उत्पादन प्रभावित हुन सक्ने संकेत गरेका छन्। सिरेमिक तथा टाइल उत्पादन गर्ने धेरै कम्पनीहरूले ग्यास अभावका कारण उत्पादनमा असर पर्न सक्ने बताएका छन्।
यता घरपरिवारलाई एलपिजी आपूर्तिमा प्राथमिकता दिने सरकारी निर्णयपछि होटल तथा रेस्टुरेन्ट क्षेत्र थप चिन्तित बनेको छ। भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनका अनुसार सरकारी निर्णयपछि देशभरका एलपिजी आपूर्तिकर्ताले रेस्टुरेन्टहरूमा ग्यास आपूर्ति सीमित गर्न सक्ने संकेत देखिएको छ।












