भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

काठमाडौँ । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न क्षेत्रमा गरिएको जाँच अभियानका क्रममा अन्दाजी ६ लाख २९ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी एक लाख २४ हजार रुपैयाँ बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ।
यस्तै शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ बराबरका १८० जोर लेडिज चप्पल प्रहरीले नियन्त्रणमा लिएको छ।
मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँ बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ।
देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ। उक्त कुखुराको मूल्य अन्दाजी एक लाख २२ हजार रुपैयाँ रहेको जनाइएको छ।
यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँ बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ।
कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ। ती सामानको मूल्य अन्दाजी एक लाख ११ हजार ६०० रुपैयाँ रहेको छ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट एक लाख ५० हजार रुपैयाँ बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ।












