समानुपातिकतर्फको मतगणना सकियो, कतिले कटाए थ्रेसहोल्ड ?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। इलाम १ को समानुपातिक मतपरिणाम सार्वजनिक भएसँगै सम्पूर्ण मतगणना पूरा भएको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, समानुपातिकतर्फ अन्तिम मत ल्याउने सबै राजनीतिक दलको विवरण केही समयपछि सार्वजनिक गरिनेछ। मतगणना सकिएकोसँगै राजनीतिक दलले पाउने सिटको निर्धारण प्रक्रिया पनि सुरु भइसकेको छ। उनले भने, ‘केही दिनमा यो प्रक्रिया पूर्णता पाउने छ।’
निर्वाचन आयोगका अनुसार आज बिहान ११ बजेसम्म समानुपातिक निर्वाचन तर्फ एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ। गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्। अन्य दलहरू हाल थ्रेसहोल्ड कटाउने स्थितिमा देखिएका छैनन्।












