काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।
यसअघि महान्यायाधिवक्ता कार्यालयले रविमाथिको अभियोग संशोधन गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको थियो। रविसँगै सहकारी ठगी प्रकरणमा जोडिएका सबैमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग फिर्ता लिने निर्णय भएको थियो।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल)लगायतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश मल्ल र पौडेलको इजलासले रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा गर्न आदेश दिएको जानकारी दिएका छन्।













