पुँजी बजारमा भारी गिरावटः प्रवेशका लगानी अवसर, लगानीकर्तालाई त्रसित बनाएर किस्ता खोस्दै माफिया

२७ फाल्गुन २०८२, बुधबार १५:०७

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि पुँजी बजारमा स्थायी सरकार आउने आशामा सोमबार एकैदिन सकारात्मक लहर देखिएको थियो । तर, सो यताका दुई कारोबारको दिन बजारमा फेरि गिरावट देखिँदा लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ । निर्वाचन नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको मत प्राप्त गरेपछि बजारमा स्थिरता आउने अपेक्षा गरिएको थियो। सधैं राजनीतिक अस्थिरताको प्रभावमा रहने गरेको पुँजी बजारले यस पटक स्थायी सरकारको सम्भावनासँगै प्रारम्भमा उत्साह देखाएको थियो ।

सोमबार बजार खुल्ने बित्तिकै नेप्से परिसूचकले तीव्र उछाल पाउँदै तीन पटक सकारात्मक सर्किट लागेको थियो । तर, आगामी दुई कारोबारको दिन परिसूचकमा गिरावट देखिन थालेपछि लगानीकर्तामा चित्त दुखाइ र निराशा देखिएको छ । बजारमा आएको उच्च मूल्यमा लगानीकर्ताले नाफा बुक गर्ने क्रम तीव्र भएको छ । यसले बजारमा अस्थिरता थपिएको प्रतीत भएको छ ।

अधिकांशले अहिलेको गिरावटलाई लगानीकर्तालाई त्रसित बनाएर ठुला लगानीकर्ताको कित्ता खोस्ने चलखेलका रुपमा समेत लिइरहेको छन् । कतिपयले ठूला लगानीकर्ताले साना लगानीकर्ताबाट कित्ता खोस्ने चलखेल गरेको देखिएको छ ।

बजार जानकारहरूले वर्तमान स्थिति दीर्घकालीन दृष्टिले सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले पछिल्ला समय शेयर बजारको प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ । ब्याजदर न्यून भइसकेको र धितोपत्र बोर्डले पनि सकारात्मक संकेत देखाइरहेको अवस्थामा लगानीकर्ताले बजारमा स्थिर वृद्धि आउने अपेक्षा गरेका छन् । उनीहरूको तर्क अनुसार अब ५ वर्षको स्थायी सरकारको सम्भावनासँगै बजार दीर्घकालीन रूपमा मजबुत हुनसक्ने सम्भावना छ ।

बजारमा देखिएको हालको गिरावटलाई बजार करेक्सनको रूपमा पनि लिन सकिने बुझाइ छ । यसले लगानीकर्तालाई सोच–विचार गरेर उपयुक्त कम्पनीमा लगानी गर्ने अवसर प्रदान गर्नेछ। अघिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताका कारण बारम्बार दबाबमा परेको शेयर बजारले स्थिर सरकारसँगै नयाँ ऊर्जा पाउने अपेक्षा राखिएको छ। यसले दीर्घकालीन रूपमा परिसूचकमा दिगो वृद्धि ल्याउने विश्वास लगानीकर्तामा छ।

रास्वपाले आफ्नो घोषणा पत्रमा आर्थिक र लगानी प्रवद्र्धनका पक्षमा उल्लेख गरेका सकारात्मक नीतिहरूले पनि बजारलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। राजनीतिक स्थिरता, बैंकिङ क्षेत्रको लचिलो नीति, न्यून ब्याजदर र धितोपत्र बोर्डको सकारात्मक गतिविधिले बजारलाई दीर्घकालीन रूपमा वृद्धि गर्न सक्ने वातावरण तयार गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

फाइनान्स समूहको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । फाइनान्स समूहको शेयर मात्रै २.०८ प्रतिशतले घटेको छ । साथै, वाणिज्य बैक समूहको १.८२ प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*