मध्यपूर्व तनावपछि तेल बजारमा उथलपुथल, आवश्यक परे रणनीतिक भण्डार प्रयोग गर्न जी-७ तयार

२७ फाल्गुन २०८२, बुधबार १५:४५

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लाग्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले आपूर्ति स्थिर राख्न आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका कदम चाल्न तयार रहेको बताएका छन्।

ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सँग समन्वय गर्दै विभिन्न विकल्पहरूमा छलफल भइरहेको जी–७ समूहले जनाएको छ। फ्रान्सको अध्यक्षतामा बुधबार जारी गरिएको संयुक्त विज्ञप्तिमा ऊर्जा आपूर्ति सुरक्षित राख्न तथा बजारमा अत्यधिक मूल्यवृद्धि हुन नदिन सक्रिय कदम चाल्ने तयारी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा परिस्थितिले माग गरेमा सदस्य राष्ट्रहरूले रणनीतिक तेल भण्डार प्रयोग गर्ने विकल्प पनि खुला राखिएको जनाइएको छ। ऊर्जा आपूर्ति अवरुद्ध हुन नदिन र बजारमा अनिश्चितता कम गर्न जी–७ राष्ट्रहरूबीच घनिष्ठ समन्वय जारी रहेको मन्त्रीहरूले बताएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रमा पारिरहेको प्रभावबारे छलफल गर्न जी–७ देशका नेताहरूको भिडियो सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उक्त बैठकमा विशेषगरी ऊर्जा आपूर्ति र तेल बजारको अवस्थाबारे विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।

यसअघि पेरिसस्थित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले मङ्गलबार आपतकालीन बैठक आयोजना गर्दै विश्व ऊर्जा आपूर्तिमा देखिएको जोखिमबारे छलफल गरेका थिए। बैठकमा मध्यपूर्वको तनावले तेल बजारमा पारेको प्रभावको मूल्याङ्कन गर्नुका साथै आवश्यक परे आपतकालीन तेल भण्डार सार्वजनिक गर्ने सम्भावनाबारे पनि चर्चा भएको बताइएको छ।

जी–७ ऊर्जा मन्त्रीहरूले आफ्नो वक्तव्यमा सदस्य राष्ट्रहरू, आईईए सदस्य देशहरू तथा अन्य साझेदार राष्ट्रहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन्। उनीहरूका अनुसार बजार स्थिर राख्न आवश्यक परे उपलब्ध सबै उपायहरू प्रयोग गर्न तयार रहने सहमति भएको छ।

यद्यपि फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरले हालसम्म कुनै औपचारिक निर्णय भने नभएको स्पष्ट पारेका छन्। उनका अनुसार अहिलेको प्राथमिकता ऊर्जा आपूर्ति सुरक्षित रहेको सन्देश विश्व बजारमा पठाउनु हो, जसले बजारमा देखिएको अनिश्चितता कम गर्न सहयोग पुर्‍याउनेछ।

उनले विशेषगरी होर्मुज जलडमरूमध्य खुला राख्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। यदि उक्त मार्गमा अवरोध आएमा अन्य स्रोतहरूबाट तेल आपूर्ति निरन्तरता दिने उपाय खोजिने पनि उनले बताएका छन्।

यसैबीच अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक रिपोर्टमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले तेलको मूल्य नियन्त्रण गर्न इतिहासकै ठूलो परिमाणमा रणनीतिक तेल भण्डार सार्वजनिक गर्ने सम्भावनाबारे प्रस्ताव गरेको उल्लेख गरिएको छ। उक्त प्रस्ताव सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि आईईए सदस्य राष्ट्रहरूले जारी गरेको करिब १८ करोड २० लाख ब्यारेल तेलभन्दा ठूलो हुन सक्ने बताइएको छ।

तर यस विषयमा आईईएले औपचारिक प्रतिक्रिया भने दिएको छैन। हालै अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको छ। त्यसको प्रतिक्रियामा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गर्दै आक्रमण गरेको तथा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच वाल स्ट्रिट जर्नलको रिपोर्ट सार्वजनिक भएपछि तेल बजारमा केही स्थिरता देखिन थालेको छ। बुधबार एसियाली सेयर बजारहरूमा पनि यसको सकारात्मक प्रभाव परेको अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूसँग हाल करिब एक अर्ब २० करोड ब्यारेल सरकारी आपतकालीन तेल भण्डार रहेको छ। यसका अतिरिक्त उद्योग क्षेत्रले सरकारी निर्देशनअनुसार राखेको झन्डै ६० करोड ब्यारेल तेल भण्डार पनि उपलब्ध रहेको बताइन्छ।

सन् १९७३ को विश्वव्यापी तेल संकटपछि ऊर्जा आपूर्ति अवरुद्ध भएमा समन्वित प्रतिक्रिया दिन सकियोस् भन्ने उद्देश्यले पेरिसमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी स्थापना गरिएको थियो। हाल आईईएले आफ्ना सदस्य राष्ट्रहरूलाई कम्तीमा ९० दिनको शुद्ध तेल आयात बराबर रणनीतिक भण्डार राख्नुपर्ने व्यवस्था गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*