नेको इन्स्योरेन्सद्वारा सर्भेयरहरुलाई धम्की, बीमा प्राधिकरण पुगेपछि रातारात मिलाइयो काण्ड

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरहरुलाई धम्कीपूर्ण पत्र पठाउँदै बीमितहरुलाई क्षति मूल्याङ्कन सम्बन्धी कुनै पनि जानकारी नदिन र त्यसरी जानकारी दिएमा भविष्यमा सर्भेयर नियुक्ती नै नगर्ने धम्की दिएर काममा लगाउने गरेको पाइएको छ । उक्त काण्ड बीमा प्राधिकरणमा पुगेपछि रातारात मिलाइएको तथ्य खुलेको छ ।
नेको इन्स्योरेन्सले एक वर्ष पहिले सबै बीमा सर्भेयरहरुलाई इमेलमार्फत चार वटा बुँदा निर्देशन पालना गर्न पत्राचार गरेको थियो । उक्त निर्देशनहरुमा बीमितलाई दायित्व वा क्षति मूल्याङ्कन सम्बन्धी कुनै सूचना नदिन, बीमा कम्पनीका शाखा कार्यालयका कर्मचारी वा बीमितहरुलाई दायित्व मूल्याङ्कनको अवस्थाबारे जानकारी नदिन भनिएको छ । त्यस्तै, कुनै पनि शाखा कार्यालयमा दायित्व मूल्याङ्कन प्रतिवेदन नबुझाउन र अन्तिम प्रतिवेदन सिधैं केन्द्रीय कार्यालयको दावी विभागमा बुझाउन निर्देशन दिइएको थियो । उल्लेखित निर्देशनहरु पालना नगरे कम्पनीले सर्भेयरसँग सम्झौता नगर्ने धम्की धम्कपूर्ण पत्राचार गरेको थियो ।

नेको इन्स्योरेन्स बीमा सभेयरलाई धम्कीसहित लेखेको पत्रमा उल्लेखित चार वटा शर्तहरु मध्ये दुई वटा निर्देशन गैर कानुनी रहेका छन् । बीमा नियमावली र दावी भुक्तानी सम्बन्धी निर्देशिकामा सर्भेयर नियुक्ती भएको जानकारी बीमितलाई दिनुपर्ने, बीमा गरिएको सम्पत्तिमा पुगेको क्षति सम्बन्धी रकम र विवरण बीमितलाई दिनुपर्ने स्पष्ट व्यवस्था छ । बीमा नियमावलीको नियम ९१ को उपनियम ५ मा सर्भेयरलाई क्षति भएको सम्पत्तिको दायित्व निर्धारण गरी बीमक कम्पनीलाई विस्तृत प्रतिवेदन पेश गर्नुपर्नेछ भने बीमितलाई दायित्व रकम उल्लेख गरी जानकारी दिनुपर्ने व्यवस्था छ ।
नेको इन्स्योरेन्स कम्पनीले बीमा नियमावलीमा भएको दावी भुक्तानी सम्बन्धी व्यवस्था, बीमा सर्भेयरहरुको आचार संहिता विपरितको कार्य गर्न बीमा सर्भेयरहरुलाई निर्देशन दिँदै उक्त निर्देशन पालना नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्ने धम्की दिएको पाइएको हो ।
नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्काको निर्देशनमा दिइएको उक्त धम्कीले अहिले सम्म पनि बीमा सर्भेयरहरु आक्रोसित बनिरहेका छन् । एक पीडित बीमा सर्भेयरले भने, ‘सर्भेयरहरुले बीमा प्राधिकरण नै घेराऊ गरेपछि पत्र त सच्याइयो तर कम्पनीका कर्मचारीहरुको व्यवहार अझै उस्तै छ ।’ कम्पनीका कर्मचारीहरुको व्यवहारमा सुधार नभएको गुनासो सर्भेयरहरुको छ ।
सो कम्पनीका तत्कालिन दावी विभागका प्रमुख सुनिल पोखरेलले बीमा सर्भेयरहरुलाई इमेलमार्फत सो चार बुँदे निर्देशन दिइएको थियो । अहिले पोखरेल दावी विभागबाट सामान्य प्रशासन विभागमा सरुवा भइसकेका छन् ।
उक्त चार निर्देशन पालना नगरेको अवस्थामा भविष्यमा नेको इन्स्योरेन्स कम्पनीले त्यस्ता सर्भेयरसँग बीमा सर्भेयर सम्बन्धी सम्झौता नगर्ने भन्दै धम्क्याइएको छ । बीमापोष्टले उक्त इमेल कम्पनीबाट लेखिएको पुष्टि गरेको छ ।
सो सम्बन्धमा जिज्ञाशा राख्दा कम्पनीका सिईओ अशोक खड्का सम्पर्कमा आउन चाहेनन् भने डेपुटी सिईओ गणेश लम्सालले बीमा दावी सम्बन्धी कार्य कम्पनीको दावी भुक्तानी विभागले हेर्ने र विभागीय प्रमुखले सर्भेयरको प्रतिवेदन अध्ययन गरेपछि मात्रै बीमितलाई दिन त्यसो गरिएको भन्दै धम्कीपूर्ण पत्रको बचाऊ गरेका छन् । नेको इन्स्योरेन्सको उक्त काण्डपछि बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुबाट भोगेको सास्ती र दुःख कुन तहको रहेछ भनेर स्पष्ट हुन आउँछ ।
नेको इन्स्योरेन्स कम्पनीले पछिल्ला दिनहरुमा सर्भेयरहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिइरहेको छैन । सिईओ खड्काले दावी विभागका कर्मचारीहरु लगाएर सर्भेयरहरुलाई धम्क्याउने क्रम अझै जारी रहेको छ ।
नेको इन्स्योरेन्सले सर्भेयरहरुलाई लिखित रुपमा पत्र पठाएर धम्की दिन थालेको बिषयलाई सर्भेयर संघले तत्कालै बीमा प्राधिकरणमा जानकारी गराएको थियो । सबैजना प्राधिकरण पुगेर घेराऊ गरेसँगै उक्त पत्र कार्यान्वयन नगरिएको अर्को इमेल लेखिएको खुलेको छ ।
उता, बीमा प्राधिकरणले पनि बीमा नियम विपरितको पत्र लेखेर सर्भेयरलाई धम्क्याउने नेको इन्स्योरेन्सलाई कुनै कारवाही तथा नैसियत नदिई त्यतिकै छोडेको पाइएको छ ।













