नागरिकता कै भरमा अब इलेक्ट्रिक स्कुटर किन्न पाइने, लुयान नेपालको नयाँ फाइनान्स योजना

२७ फाल्गुन २०८२, बुधबार १६:५०

काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर खरिद गर्न पनि नागरिकता मात्रैका आधारमा फाइनान्स सुविधा पाउने व्यवस्था सुरु भएको छ। इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री गर्दै आएको लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई सहज रूपमा स्कुटर उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो। यसअन्तर्गत ग्राहकले आफ्नो नागरिकता र एक जना ग्यारेन्टरको नागरिकताको आधारमा स्कुटर खरिदका लागि फाइनान्स सुविधा लिन सक्नेछन्।

सामान्यतया सवारीसाधन फाइनान्स गर्दा आम्दानी प्रमाणित गर्ने कागजात, काठमाडौंकै स्थायी ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो संस्थामा कार्यरत भएको प्रमाण जस्ता विभिन्न कागजात आवश्यक पर्ने गर्छन्। तर लुयान नेपालको नयाँ व्यवस्थामा यस्ता धेरै झन्झटिला प्रक्रियालाई कम गर्दै ग्राहकलाई सहज बनाइएको कम्पनीले जनाएको छ।

यो योजनाबाट काठमाडौंमा बसोबास गर्दै औपचारिक वा अनौपचारिक पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू, साना व्यवसायी तथा राइड सेयरिङ सेवामा सक्रिय युवाहरूले पनि लाभ लिन सक्नेछन्। नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसोबास गरी काम गरिरहेका व्यक्तिले यो सुविधा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार यस योजनाअन्तर्गत स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स उपलब्ध हुनेछ। बाँकी रकम भने ग्राहकले अधिकतम १८ महिनासम्म किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

उनका अनुसार यो सुविधाले विशेषगरी राजधानीमा राइड सेयरिङ व्यवसायमा सक्रिय युवालाई स्कुटर खरिद गर्न थप सहज हुने अपेक्षा गरिएको छ। हाल यो सेवा काठमाडौंमा मात्रै उपलब्ध गराइएको भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

लुयान नेपालले करिब सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले ल्याएको यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ र काइसाई ब्राण्डका स्कुटरमा लागू हुने जनाएको छ।

हाल कम्पनीले करिब एक लाख ४० हजार रुपैयाँदेखि साढे दुई लाख रुपैयाँसम्मका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। साथै करिब एक लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने स्कुटर पनि बिक्री गर्दै आएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*