महङ्गी घट्यो, वार्षिक उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत

२७ फाल्गुन २०८२, बुधबार १८:०४

काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको थियो।

त्यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशतले बढेको छ। यसैगरी घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले वृद्धि भएको छ। तर दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशतले घटेको छ भने खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य २.९७ प्रतिशत र मरमसलाको मूल्य २.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशतले बढेको छ। शिक्षाको मूल्य ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ। सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ०.०८ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको यस्तो सूचकाङ्क ३.५१ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत रहेको छ भने मधेश प्रदेशमा सबैभन्दा बढी ५.१४ प्रतिशत रहेको छ। बागमती प्रदेशमा ३.१० प्रतिशत, गण्डकी प्रदेशमा २.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.२९ प्रतिशत, कर्णाली प्रदेशमा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६४ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

भौगोलिक क्षेत्रका आधारमा समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ। तराई क्षेत्रमा ३.६६ प्रतिशत, पहाडमा २.६८ प्रतिशत र हिमाली क्षेत्रमा २.५८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*