पराजय स्वीकार्दै ओलीले भने ‘जनताको फैसला नै अन्तिम’

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पराजित भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो र आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन्।
रास्वपाका वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीका आकाङ्क्षी ओली झापा क्षेत्र नम्बर ५ मा ठूलो मतान्तरले पराजय भोग्न बाध्य भएका छन्।
बालेनसँग पराजित भएका ओलीले २३ गते सामाजिक सञ्जाल फेसबूकमा एउटा पोष्ट गर्दै “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्–हार्दिक शुभकामना !” लेखेका थिए। उक्त पोष्टमा बालेनले कुनै प्रतिक्रिया दिएका छैनन।
आज पुनः फेसबूकमा पोष्ट गर्दै ओलीले “…यस पटकको निर्वाचनमा मैले अपेक्षा गरे जस्तो परिणाम ल्याउन सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।” लेखेका छन्।
उनले यो कठिन घडी भएको र यस्तो अवस्थामा पनि आफू र आफ्नो पार्टीलाई मत दिएकोमा धन्यवाद ज्ञापन गरेका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेनले ६८ हजार ३४८ मतका साथ विजयी हुँदा ओलीले जम्मा १८ हजार ७३४ मत ल्याएर पराजित भएका छन्। रास्वपाले यस निर्वाचनमा १८२ सीट जित्दा नेकपा एमालेले २५ सीटमात्र जित्न सफल भएको छ।












