बीमितलाई बाहिरबाट औषधि किन्न लगाए कारबाही गर्ने बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्दा नियम विपरीत काम नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा चेतावनी दिएको छ।
बोर्डले जारी गरेको सूचनाअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित नागरिकलाई बीमा सेवामा समावेश हुने औषधि तथा औषधिजन्य सामग्री आफ्नै संस्थाबाट नदिई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाएको गुनासो प्राप्त भएपछि त्यसो नगर्न चेतावनी दिएको हो।
बोर्डले यस्तो कार्य स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत हुने भन्दै त्यस्तो गरेको भेटिएमा कडा कारवाही गर्ने चेतावनी दिएको हो। अबदेखि यस्तो प्रकृतिका गतिविधि नगर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ।
स्वास्थ्य बीमा गरेका बीमितहरूलाई सम्बन्धित अस्पतालले औषधी छैन भनेर बाहिरबाट किन्न लगाउने र सस्तो खाले औषधी मात्रै दिने अनि महंगो पर्ने औषधी भने किन्न लगाउने घटना र गुनासो बढ्दै गएपछि बोर्डले सूचना निकालेरै चेतावनी दिनु परेको हो।
अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट (प्रमुख, नीति योजना शाखा) डा. पवन कुमार साहले एक सूचना जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन्।













