खाना पकाउने ग्यासको चरम अभाव, डिपोमा महिनादिन पछि मात्रै पालो

काठमाडौं । पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिंदै गएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताहरूले डिपो र पसलमा लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको समस्या झन् गम्भीर देखिएको छ। धेरै उपभोक्ताले खाली सिलिन्डर बोकेर पसल–पसल धाइरहेका छन् भने केही स्थानमा एउटै सिलिन्डर पाउन १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने अवस्था आइपरेको छ।
ग्यास बिक्रेताका अनुसार डिपोहरूमा ग्यास आउन ढिलाइ हुँदा वितरण असन्तुलित भएको छ। कतिपय ठाउँमा पालो प्रणाली लागू गरिएकाले ग्यास लिन आउने उपभोक्ताले महिनौंसम्म आफ्नो पालो कुर्नुपर्ने अवस्था देखिएको छ।
यता नेपाल आयल निगमले भने देशमा ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गरेको छ। निगमका अनुसार बजारमा मागभन्दा बढी ग्यास पठाइरहे पनि अनावश्यक भण्डारण, वितरण अव्यवस्था र बजारमा सिर्जित हल्लाका कारण अभाव देखिएको हुनसक्ने बताएको छ।
व्यवसायीहरूले भने भारतबाट ग्यास लोड हुन ढिलाइ, चिसो मौसमका कारण खपत बढ्नु तथा ढुवानीका केही प्राविधिक समस्याले आपूर्ति प्रभावित भएको बताएका छन्। यस्तै केही स्थानमा ग्यास अभाव देखाउँदै बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने घटना समेत देखिएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धको कारण स्ट्रेट अफ होर्मुज अवरुद्ध भएको छ। उत्तरी किनारामा इरान र दक्षिणी किनारामा ओमान र यूएई पर्ने यस समुद्री मार्ग हुँदै विश्वमै ठूलो मात्रामा तेल र ग्यास ढुवानी हुन्छ तर त्यस क्षेत्रमा चर्किएको द्वन्द्वको कारण पनि तेल र ग्यास आपूर्तिमा समस्या परिरहेको छ।












