रास्वपाद्वारा मन्त्री बन्नेहरुको सूचि संकलन गर्दै, बिज्ञता, मतको आधारमा मन्त्री, नतिजा नदिए ३ महिनामै बिदाई

काठमाडौं । भर्खरै सम्पन्न भएको निर्वाचनमा अत्याधिक बहुमत सहित बिजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ मन्त्रीहरुको छनौट प्रक्रिया सुरु गरेको छ । पार्टी निकट स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीमा बालेन शाह हुनेछन् भने अन्य मन्त्रीहरुको खोजी भइरहेको छ ।
रास्वपाले मन्त्री बन्नको लागि आकांक्षीहरु मध्येबाट एउटा विज्ञ समुहले नै गठन गरेर छनौट गर्ने नीति लिनेछ । ‘सुरुमा मन्त्री बन्नेहरुको सूचि तयार गर्ने र सम्बन्धित व्यक्तिको बिज्ञता, प्राप्त मत, विगतमा गरेको कामको नतिजाको आधारमा मन्त्री छनौट गरिनेछ’ स्रोतले भन्यो ।
नयाँ मन्त्रीहरुको नियुक्तीमा पनि कुनै तामझाम गरिने छैन । साथै मन्त्रीहरुलाई १०० दिनको नतिजाको आधारमा थप अवसर दिने गरी मन्त्रिमण्डल गठन गरी अघि बढाउने तयारी भइरहेको हो । अहिले कसलाई कुन मन्त्रालय भन्ने यकिन भइसकको छैन । प्रधानमन्त्री र मन्त्रीहरुलाई पार्टीले स्पष्ट समय सीमा सहितको कार्य सम्पादनको आधारमा थप नेतृत्वको जिम्मेवारी दिने गरी सबैलाई समान नीति बनाएरै अघि बढ्न लागेको जनाइएको छ ।
सुरुमा मन्त्री बन्न धेरै सांसदमा बिजेताहरुले जोड दिएका छन् । रास्वपाले यस पटक मन्त्रीका लागि बिज्ञता अर्थात अध्ययन, विगतमा गरेको कामको मूल्याङ्कनको आधारमा मात्रै मन्त्री नियुक्त गर्ने र सो सम्बन्धमा सहमति भएर कुन खाकामा काम गर्ने भनेर योजना बनिरहेको ति नेताले बीमापोष्टलाई जानकारी दिएका छन् ।
पछिल्लो समय रास्वपाका सांसदहरुलाई बाहिर सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ । जथाभावी बोल्न थालेपछि पार्टीभित्र गुट र उपगुट जन्मन्छ भनेर त्यसो गरिएको हो । आगामी चैत्रको पहिलो साताभित्र नयाँ सरकार गठन भइसक्नेछ ।












