नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुन सक्ने

२९ फाल्गुन २०८२, शुक्रबार १०:४२

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ। विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा एकदेखि तीन सातासम्म सेवा प्रभावित हुन सक्नेछ।

विभागले जारी गरेको सूचनाअनुसार अन्तरिम अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुन सक्नेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा पनि करिब एक सातासम्म बन्द हुन सक्ने विभागले जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागको भनाइ छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको तुलनामा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ।

यस अवस्थालाई ध्यानमा राख्दै विभागले आगामी छ महिनाभित्र अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै राहदानी बनाइसक्न आग्रह गरेको छ। सेवाग्राहीले सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट प्रचलित प्रक्रिया अनुसार राहदानी सेवा लिन विभागले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*