ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ठुला लगानीकर्ता आक्रामक

२९ फाल्गुन २०८२, शुक्रबार १२:०१

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले धितोपत्र बजारसँग प्रत्यक्ष सम्बन्धित कर्जामा तीव्र वृद्धि भइरहेको हो । अर्थतन्त्रका अन्य क्षेत्रहरूमा कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा शेयर बजारसँग सम्बन्धित कर्जामा भने लगानीकर्ताको रुचि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्षको सुरुवात अर्थात् असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ मात्रै थियो । सात महिनाको अवधिमा करिब १५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी थप कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना आन्तरिक कार्यविधि तथा नियामकीय व्यवस्थाअनुसार व्यक्तिको स्वामित्वमा रहेको शेयरलाई धितो राखेर कर्जा प्रदान गर्न सक्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो नाममा दर्ता भएको शेयर धितो राखेर निश्चित अनुपातमा कर्जा लिन पाउँछन् । यद्यपि यस्तो कर्जा कानुनी रूपमा जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भए पनि व्यवहारमा यसको ठूलो हिस्सा पुनः शेयर बजारमै लगानी हुने गरेको देखिन्छ ।

विशेषगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा पनि विस्तार भइरहेको छ । पछिल्ला वर्षहरूमा नेपालमा पूँजी बजारप्रति सर्वसाधारणको आकर्षण उल्लेख्य रूपमा बढेको छ । नयाँ डिम्याट खाता खोल्नेको संख्या बढ्दै जानु, अनलाइन कारोबार प्रणालीको विस्तार तथा नयाँ लगानीकर्ताको प्रवेशले शेयर बजारलाई थप सक्रिय बनाएको छ ।

पछिल्लो तथ्यांकले विशेषगरी ठूला लगानीकर्ताहरू शेयर धितो कर्जामा बढी आक्रामक देखिन थालेका छन् । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले १ करोड रुपैयाँभन्दा माथिको १ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा पनि उल्लेख्य वृद्धि देखिएको छ। एक वर्षको अवधिमा यस्तो कर्जा प्रवाह करिब १७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस समूहमा १८ अर्ब ५१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ५४ करोड रुपैयाँ मात्रै थियो।

मध्यम स्तरका लगानीकर्ताले लिने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जामा पनि वृद्धि देखिएको छ। एक वर्षको अवधिमा यस समूहको कर्जा प्रवाह १२ दशमलव ७ प्रतिशतले बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। तथ्यांकअनुसार यो समूहमा करिब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप कर्जा विस्तार भएको हो।

ठूला लगानीकर्ताहरूको प्रवेशले बजारमा तरलता बढाउने र कारोबारको आकार विस्तार गर्ने सम्भावना हुन्छ । ठूला लगानीकर्ताले ठूलो परिमाणमा शेयर खरिद गर्दा बजारमा माग बढ्ने र त्यसले सूचकमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ । यही कारण धेरै लगानीकर्ताले पछिल्लो समय बजारमा देखिएको कर्जा विस्तारलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्न थालेका छन् ।

अर्कोतर्फ अर्थतन्त्रका अन्य क्षेत्रहरूमा कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको अवस्थामा शेयर धितो कर्जामा भएको वृद्धि बैंकिङ क्षेत्रका लागि पनि राहतको विषय मानिएको छ। उद्योग, व्यापार तथा निर्माण क्षेत्रको गतिविधि अपेक्षाकृत सुस्त रहँदा बैंकहरूको कर्जा विस्तार पनि सीमित भएको छ । यस्तो अवस्थामा शेयर बजारसँग सम्बन्धित कर्जाले बैंकहरूको कर्जा पोर्टफोलियो विस्तारमा केही सहयोग पु-याएको विश्लेषण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*