वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ

२९ फाल्गुन २०८२, शुक्रबार १२:२९

काठमाडौं । आकर्षक तलब सहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविना खड्का तथा काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार कमला देवी सुनुवारले क्रोएशिया पठाइदिने भन्दै दुई जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। त्यसैगरी सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ तथा अम्बर गुरुङले क्रोएशिया पठाइदिने भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमला देवी सुनुवारलाई काठमाडौं महानगरपालिका–१५ बाट, सविना खड्कालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बाट बुधबार तथा अम्बर गुरुङलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*