विधान संशोधन गर्दै बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सहज बनाउन आफ्नो पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। हालको व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्ने प्रावधान रहेकाले त्यसलाई व्यवहारिक बनाउन संशोधन गर्न लागिएको हो। रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था उल्लेख छ, जसको उपधारा ८(ख) मा ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ व्यवस्था गरिएको छ।
पार्टीका नेताहरूका अनुसार सम्पूर्ण सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक रूपमा कार्यान्वयन गर्न कठिन हुने निष्कर्षसहित उक्त प्रावधान परिमार्जन गर्ने तयारी गरिएको हो। हालको अवस्थामा पार्टीका सबै सदस्यलाई सहभागी गराएर मतदान गराउने प्रक्रिया सम्भव नभएपछि संसदीय दलका निर्वाचित सांसदहरूबीचबाट नेता चयन गर्ने व्यवस्था स्पष्ट बनाउन विधान संशोधन गर्न लागिएको बताइएको छ।
रास्वपाको वर्तमान विधानअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता बन्ने व्यवस्था छ। सोही आधारमा पार्टीले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको बताइएको छ। पार्टीको विधानअनुसार सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने भएकाले उनलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भएको हो।
यसअघि रास्वपा र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर पक्षबीच एकता हुँदा भावी प्रधानमन्त्रीका रूपमा शाहलाई अघि बढाउने सहमति भएको थियो। पुस १३ गते भएको सहमतिपत्रमा पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको थियो। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम सार्वजनिक भइसकेकाले अब निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त भएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।












