राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले सिईओ लखेटे

१ चैत्र २०८२, आईतवार ११:३१

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले बार्षिकोत्सव मनाउन नपाएको भन्दै कम्पनीका सिईओ सुन्दर पन्थीमाथि दुव्र्यवहार गर्दै लखेटेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा रहेको कर्मचारी युनियनका पदाधिकारीहरु मिलेर गत साताको सोमबार कार्यालयमै सिईओमाथि आक्रमणको प्रयास मात्रै गरेनन् काम गर्ने टेवल नै उचालेर फ्याकेका थिए ।

सिईओ पन्थीले कम्पनीको बार्षिकोत्सव फागुन ११ मा पनि उपस्थित नभई कार्यक्रम मनाउन नपाएको तथा भ्रष्ट कर्मचारीहरुले ल्याएको पेट्रोलको बिल पास नगरेको भन्दै कर्मचारी युनियनका अध्यक्ष बिशाल तिमल्सिनाको नेतृत्वमा सिईओमाथि दुव्र्यवहार गरिएको थियो ।

उक्त घटनापछि सिईओ कार्यालय अनुपस्थित भएको कम्पनीका अधिकारीहरुले जनाएका छन् । गत हप्तामात्रै कम्पनीसँग सम्बन्धित एक भिडियो फुटेज सार्वजनिक भएको थियो । जसमा कम्पनीका युनियनका कर्मचारीले सिईओ पन्थीको कार्यकक्षमा रहेको डेक्स तोडफोड गरिएको थियो ।

घटना हुँदा कम्पनीका डेपुटी सिईओ महेश रिमालदेखि व्यवस्थापन तहका उच्च अधिकारीहरु र युनियनका कर्मचारीहरु सिईओको कार्यकक्षको बैठकमा समावेश थिए । बैठकस्थलमै त्यस्तो हर्कत भएको घटनामा डेपुटी सिईओ महेश रिमाल संरक्षित समुहले गरेको बताइएको छ ।

यसअघिका प्रशासक कवि पाठकलाई पनि कम्पनीका व्यवस्थापक टिमले धम्की दिने र कार्यकक्षमा क्षति हुने काम गरिएको थियो । नेपाल सरकारको लगानी भएको दुई बीमा कम्पनीमा दुई जना व्यक्तिले कब्जा गरेर बर्षौदेखि अडिट समेत हुन नदिई ब्रम्हलूट मच्चाउदै आएका छन् । राष्ट्रिय बीमा कम्पनीका सुवास कोइरालाले सिईओलाई काम गर्न नदिई लखेट्ने र राष्ट्रिय जीवन बीमा कम्पनी अर्थात राष्ट्रिय बीमा संस्थानमा महेश रिमालले दोस्रो सुवासको भूमिका खेल्दै आएका छन् । जसका कारण बर्षौदेखि कम्पनीको अडिट समेत हुन नसकी सर्वसाधारणको निक्षेप दुरुपयोग भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*