राजस्व चुहावट प्रकरणमा ७० लाख घुस, पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्धा दायर

१ चैत्र २०८२, आईतवार १६:५२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट सम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा कसुरजन्य कार्यमा सहजीकरण गरिदिने भन्दै प्रतिवादीहरूले घुस रकम लिएका थिए। लिइएको उक्त रकमको स्वरूप परिवर्तन गरी जग्गा खरिद गर्नुका साथै रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको पाइएको आयोगले जनाएको छ।

यसरी अवैध रूपमा प्राप्त रकमलाई विभिन्न माध्यमबाट प्रयोगमा ल्याई भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० लाख रुपैयाँ कायम गरी सोही बिगो बमोजिम कैद र जरिवाना मागदाबी गरेको छ। साथै अधिकारीलाई सोही ऐनको दफा २४ बमोजिम थप सजायको माग गरिएको छ।

यस्तै, प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) ले परिभाषित कसुरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजायको माग गरिएको आयोगले जनाएको छ।

झलक राम अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले सोही ऐनको दफा ३० को उपदफा (७) बमोजिम थप सजायको समेत मागदाबी गरिएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*