पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबको कारण निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको हो।
निगमका अनुसार नयाँ मूल्य हिजो रातिदेखि लागू हुनेगरी समायोजन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २१६ रुपियाँ वृद्धि गरिएको छ। तर नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको निगमले जानकारी दिएको छ।
मूल्य वृद्धि भएसँगै अब एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १२६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नु परेको निगमले बताएको छ।














