प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको १४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान भएकाले हाल उक्त शेयर सिटिजन्स बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।
सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र बैंकका संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।












