सिटिजन्स बैंकमा पाँच करोड रुपैयाँ हिनामिना, पाँच कर्मचारी निलम्बित

२ चैत्र २०८२, सोमबार ११:३५

काठमाडौं । सिटिजन्स बैंकमा पाँच करोड रूपैयाँ रकम हिनामिना भएको पाइएको छ। बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको हो । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रूपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ।

बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको अनुसन्धानबाट खुलेको छ ।

घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेललाई मुख्य आरोपी बनाइएको छ । उनीसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको हो । कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् भने हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकी छिन् ।बैंकले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालले बैंकबाट निवेदन प्राप्त भएको र अनुसन्धान भइरहेको पुष्टि गरे ।

प्रहरीले पनि बैंकलाई पत्र पठाएर सबै कर्मचारीको विस्तृत विवरण मागिसकेको छ । बैंकका सूचना अधिकारी अधिकारीले प्रहरीले बैंकसँग थप विवरण र अनुसन्धान प्रतिवेदन मागेको र प्रक्रिया अघि बढेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*