शिखर पावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड गरिंदै

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिहान साढे ८ बजे बाँडफाँड गर्दैछ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो। अनुमति पाए लगत्तै माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र माघ २० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।
त्यसपछि कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।
कम्पनीको बिक्री प्रबन्धकले आज सर्वसाधारणलाई आईपीओ बाँडफाँड गर्न लागेको हो। मागभन्दा धेरै मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी सबै आवेदकको हात रित्तिनेछ।












