नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दाका प्रतिवादीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । नलिन्चोक हेलिपोर्ट निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेश त्रुटिपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन वरिष्ठ अधिकृत तथा हाल उप–प्रबन्धक समृद्धि श्रेष्ठसहितका प्रतिवादीहरूले नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा आवश्यक सम्भाव्यता र भौगोलिक, वातावरणीय र व्यवस्थापकीय पक्षको पर्याप्त अध्ययन नगरी परियोजना सञ्चालन गरिएको अनुसन्धानको क्रममा खुलेको थियो।
उक्त निर्णयका कारण निर्माण गरिएको हेलिपोर्ट उद्देश्यअनुसार प्रयोगमा आउन नसक्ने अवस्था सिर्जना भएको र त्यसबाट १३ करोड ५७ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुगेको अख्तियारले निष्कर्ष निकालेको छ।
यस विषयमा अख्तियारले गत मंसिर १७ गते विशेष अदालतमा मुद्दा चलाएको थियो तर विशेष अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइपछि प्रतिवादीमध्ये गुरुदत्त अधिकारीलाई साधारण तारेखमा राख्ने र समृद्धि श्रेष्ठ तथा विजय थापालाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
उक्त आदेश भ्रष्टाचारको प्रकृति र नोक्सानीको परिमाणको तुलनामा उपयुक्त नभएको ठहर गर्दै प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित अख्तियारले सोमबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो। निवेदनमा विशेष अदालतको साधारण तारेख र धरौटीमा छाड्ने आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको सुनुवाइ अघि बढाउन माग गरिएको छ।












