क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
३ चैत्र २०८२, मंगलवार ०९:५८

काठमाडौं । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीता भण्डारी रहेकी छन्।
पक्राउ परेकी भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको पाइएको छ। रकम ठगीमा परेका पीडितहरूबाट उजूरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक राजगार विभागमा पठाइएको छ।












