करार अवधि थप्न मेयरलाई घुस, अख्तियारमा उजूरी दिंदा आफू पनि फन्दामा

३ चैत्र २०८२, मंगलवार १४:३१

काठमाडौं । रूकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका करारका कर्मचारीले मेयरलाई घुस खुवाएर अवधि थप्न लगाएको र फेरि अवधि थप्न नमान्दा अख्तियारमा उजूरी दिएपछि मेयरसँगै आफू पनि फन्दामा परेका छन्।

नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विगत ८ वर्षदेखि करार सेवामा कार्यरत थिए। आर्थिक वर्ष २०८१/०८२ का लागि करार म्याद थप गर्ने क्रममा उनले नगर प्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएर अवधि थप गरेका थिए। उनले उक्त घुस रकम मेयरको बैंक खातामा जम्मा गरेका थिए।

तर आर्थिक वर्ष २०८२/०८३ मा पनि अवधि थप गर्न मेयरले फेरि १ लाख घुस माग गरेका थिए। तर कर्मचारीले यस पटक आफूसँग रकम नभएकाले घुस नलिकनै अवधि थपिदिन आग्रह गरेको तर घुस नपाएको मेयरले करार म्याद थप्नुको सट्टा उल्टै बर्खास्ती नै गरिदिएपछि उनले मेयरलाई कारवाही गर्न भन्दै अख्तियारमा उजूरी दिएका थिए। उजूरी दिंदा उनले अघिल्लो आवमा मेयरलाई घुस दिएको बैंक भौचर समेत साथैमा राखी उजूरी दिएका थिए।

यस उजुरीका आधारमा अनुसन्धान हुँदा मेयर पुष्प वादीले आफ्नो पदको दुरुपयोग गर्दै करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख रुपैयाँ घुस लिएको र १ वर्ष अवधि थपिदिएको पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले मेयरलाई १ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो।

त्यसैगरी मोहन शाहले पनि आफ्नो करार अवधि थप गर्न मेयरलाई १ लाख रुपैयाँ घुस खुवाएको भन्दै अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको छ। उनले आफ्नो करार सेवा निरन्तर गराउनका लागि नगर प्रमुखलाई १ लाख रुपैयाँ बैंकमार्फत दिएको उनी आफैंले प्रमाणको रूपमा पेश गरेको भौचरबाट पुष्टि भएको भन्दै अख्तियारले उनलाई पनि घुस खुवाएको आरोपमा १ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा चलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*