सामुदायिक लघुवित्तको साधारणसभा आह्वान, शेयर स्वामित्व परिवर्तन गरिने

४ चैत्र २०८२, बुधबार ०७:५६

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गते मंगलबार बसेको सञ्चालक समितिको ४२औं बैठकले चैत २७ गते शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

उक्त साधारणसभाले कम्पनीको हाल संस्थापक शेयर समूह र सर्वसाधारण समूहको शेयर क्रमशः ६१.११ २ ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र उपरोक्त विशेष प्रस्तावहरूका सम्बन्धमा नियमनकारी निकायहरूबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।

त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनका लागि चैत १८ गते १ दिन कम्पनीको शेयर दाखिला खारेजीको कार्य बन्द (बूक क्लोज) रहनेछ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत १७ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखितको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन तथा मतदान गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*