सर्वसम्मत नेतृत्व चयनले महासंघ बलियो बन्छ: चन्द्रप्रसाद ढकाल

५ चैत्र २०८२, बिहीबार १०:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकताको आधार मजबुत हुने बताए । निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने उनको धारणा थियो ।

उनले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यहाँका उत्पादनको गुणस्तर कायम राख्दै उत्पादनको परिमाण पनि बढाउनुपर्ने बताए । परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारसँग जोडिन गुणस्तरका साथै उत्पादन विस्तार अपरिहार्य रहेको बताए ।

ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । साथै स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको शृङ्खलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासमा ललितपुर उद्योग वाणिज्य संघले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई अझ सशक्त बनाउन नीतिगत सुधार अपरिहार्य रहेको बताए । लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास तथा प्रशासनिक झन्झट न्यूनीकरण आवश्यक रहेको उनको भनाइ थियो ।

उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे । यसका लागि निजी क्षेत्र एकीकृत आवाजमा प्रस्तुत हुनुपर्ने उनले बताए ।

अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिए । संशोधित विधानले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले जिल्ला, नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*