नेको इन्स्योरेन्सद्वारा समाचारको खण्डन

काठमाडौं । नेको इन्स्योरेन्सले बीमापोष्टमा २०८२ मंसिर ७ गते प्रकाशित समाचार मिति २०८२ फागुन २५ गते पत्र पठाएर खण्डन गरेको छ ।
नेको इन्स्योरेन्सको खण्डनः
तपाईको बीमापोष्टमा ७ मंसिर २०८२ मा प्रकाशित “एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका सिईओ अशोक खड्का अष्ट्रेलिया भ्रमणमा” र विभिन्न शिर्षकमा प्रकाशित समाचार प्रति यस कम्पनीको गम्भिर ध्यानाकर्षण भै आपत्ती रहेको छ ।
संचार माध्यमले सही, तथ्य सूचना प्रकाशित/प्रसारित गरी आम जनसमूदायलाई सुसूचित गराउने आफ्नो कर्तब्य हो । आफ्नो कर्तव्य भन्दा बाहिर गै अनावश्यक रुपमा वार्गेनिङ गर्ने, धम्क्याउने र रिस इबी साँध्नको लागि गलत एवं भ्रामक सूचना प्रकाशित गर्दा पाठकले सही सूचना प्राप्त नगर्ने, सम्बन्धित ब्यक्ति वा संस्थाले अपमानित भै पिडाबोध गर्नु पर्ने र संचार माध्यमको विश्वनियता नरहने प्रष्ट कुरा हो ।
यस कम्पनीको नाम जोडेर प्रकाशित उक्त समाचारहरुमा कुनै सत्यता नरहेकोले कम्पनीको तर्फबाट खण्डन गर्न चाहन्छौं । कम्पनीको व्यवसाय प्रवद्र्धनको लागि संचालक समितिले अष्ट्रेलिया पठाउने निर्णय गरेको र नियामक निकायले स्वीकृति दिई भ्रमणमा गएको व्यक्तिको सम्बन्धमा भ्रामक समाचार प्रकाशित गरेको र यस कम्पनीका अध्यक्षज्यूको नाम जोडी वहाँले भन्दै नभन्नु भएको कुरालाई वहाँले भनेको भनी प्रकाशित समाचार प्रति कुनै सत्यता नभएकोले यस्ता समाचारहरु आगामी दिनमा प्रकाशित नगर्न र प्रकाशित उक्त समाचारहरुमा भुलसुधार गरी खण्डन प्रकाशित गर्नु हुन अनुरोध गर्दछौं ।
भवदीय
विष्णुप्रसाद धिताल
सूचना अधिकारी
बीमापोष्टको भनाईः बीमापोष्टमा प्रकाशित समाचारहरु सत्य छन् । झुठा छैनन् । सो कुराको पुष्टि नेको इन्स्योरेन्सका सिईओ अशोक खड्काले सामाजिक सञ्जाल फेसबुकमा मिति २०८२।०९।०१ को सूचनाले समेत पुष्टि गर्दछ । २१ प्रतिशत सरकारी लगानी भएको सार्वजनिक कम्पनीको सिईओ पदमा नियुक्त लिएका अशोक खड्काले कम्पनीबाट तलव र सेवा सुविधा समेत लिएर नेकपा एमालेको १० औं महाधिवेशन आयोजक समितिको सदस्य र आर्थिक समितिको सदस्य पनि भएर काम गर्नु र चन्दा उठाउने कार्य नेपालको कुनै पनि कानुनले छुट दिँदैन ।












