प्रयोगमा नआउँदा ऊर्जा मन्त्रालयको करोडौंका सामग्री बिग्रिदै

५ चैत्र २०८२, बिहीबार १३:२६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तालिमका लागि किनेको करोडौं मूल्यका सामग्री लामो समयसम्म प्रयोगमा नआउँदा बिग्रिन थालेका छन्। गोदावरीस्थित तालिम केन्द्रमा राखिएका कैयौं सामग्री दुई वर्ष बितिसक्दा पनि उपयोगमा नआएका हुन्।

साविक जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले उक्त सामग्रीहरू इञ्जिनियर तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि किनेको थियो। त्यसमा टेबुल, कुर्सी, कम्प्युटर, सोफा, माइक, एसी तथा बैठक कक्षमा प्रयोग हुने अन्य उपकरणहरू समेत रहेका छन्।

२०८० सालको बजेट घोषणामा सम्बन्धित अनुसन्धान केन्द्र खारेज गर्ने निर्णय भए पनि त्यसपछि संस्थागत संरचनामा परिवर्तन गर्दै केन्द्रलाई अर्को निकाय अन्तर्गत राखिएको थियो। अहिले उक्त केन्द्र जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा रहेको छ।

संरचनागत अन्योल, निर्णय प्रक्रियामा ढिलाइ तथा व्यवस्थापनको अस्पष्टताका कारण किनिएका सामग्री लामो समयसम्म प्रयोगमा नआएको देखिन्छ। यसबीच तालिम सञ्चालन तथा पूर्वाधार उपयोग सम्बन्धी कार्य समयमै अघि नबढ्दा सामग्री थन्किन पुगेका हुन्।

पछिल्लो समय भने ती सामग्री प्रयोगमा ल्याउने तयारी भइरहेको जनाइएको छ। नयाँ सामग्री खरिद नगरी पहिल्यै किनिएका उपकरणहरू प्रयोगमा ल्याउने योजना सहित व्यवस्थापनतर्फ पहल अघि बढाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*