शेयर कर्जामा लगानी बढाउँदै वाणिज्य बैंकहरूः १७ बैंकको बढ्दा दुईको मात्र घट्यो, कसले कति दिए?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट १ खर्ब ३३ अर्ब ७ करोड ६५ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ४२.९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो ।
१७ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् । यसअवधिमा १० बैंकको शेयर धितोकर्जा ६ अर्बभन्दा बढी रहेको छ ।
यसअवधिमा कृषि विकास बैंकले सर्वाधिक २८६ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकको शेयर कर्जा लगानी ७ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, माछापुच्छे बैंकको शेयर कर्जा लगानी १८१ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ, लक्ष्मी सनराइजको ११५ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड, एनएनबि बैंकको ८७.२५ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड, एनआईसी एशिया बैंकको ८६ प्रतिशतले बढेर ४ अर्ब ७२ करोड र राष्ट्रिय वाणिज्य बैंकको ७९ प्रतिशतले बढेर ८ अर्ब ९ करोड पुगेको छ ।

यता, माघ मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधिमा कुल १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी ३५ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले शेयर धितो कर्जामा १२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेको थियो ।
ग्लोबल आइएमईले १३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले शेयर धितो कर्जाको लगानी १५ प्रतिशतले बढाएको हो ।
साथै, यसअवधिमा नेपाल बैंकको १०.२७ प्रतिशत र हिमालयन बैंकको ३.९५ प्रतिशतले शेयर धितोकर्जा घटेको छ ।












