पुँजी बजारमा उछालः बैंकिङ समूहको शेयर सर्वाधिक बढ्यो, बजार नयाँ रेकर्ड तिर गएको हो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा उच्च सुधार देखिएको छ । बुधबार बजार साढे १३ अंकले मात्र बढेको अवस्थामा बिहिबार भने ठुलो उछाल आएको हो । हरियालीले लगानीकर्तामा उत्साह थपेको छ । हालको राजनीतिक वातावरण, आर्थिक नीति र वित्तीय निकायहरूको सक्रियताले बजारमा दीर्घकालीन सकारात्मक संकेत देखाइरहेको छ । यसले गर्दा लगानीकर्ताहरूले सुरक्षित र रणनीतिक लगानी गर्ने विश्वास बढाएको छ ।
निर्वाचन नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको मत प्राप्त गरेपछि राजनीतिक स्थिरताको अपेक्षा बढेको छ । लामो समयदेखि अस्थिर राजनीतिक परिस्थितिका कारण पुँजी बजारमा अनिश्चितता देखिन्थ्यो । तर अब स्थायी सरकार गठन हुने सम्भावनाले बजारमा प्रारम्भिक उत्साह ल्याएको छ । राजनीतिक स्थिरताले लगानी वातावरणलाई सहज बनाउने र अर्थतन्त्रमा विश्वास जगाउने कार्य गर्नेछ ।
दीर्घकालीन दृष्टिले पनि हालको स्थिति सकारात्मक देखिन्छ । नेपाल राष्ट्र बैंकले शेयर बजारको प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ । साथै, ब्याजदर न्यून भएकाले पूँजी बजारमा लगानी गर्नको लागि अनुकूल वातावरण सिर्जना भएको छ । धितोपत्र बोर्डले पनि बजारलाई नियमित र पारदर्शी बनाउन विभिन्न सकारात्मक कदम चालिरहेको छ । यसरी नीतिगत र नियामक पक्षले मिलेर लगानीकर्ताको आत्मविश्वास बढाएको छ ।
आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै शेयर बजारमा दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरेका छन् । जेनजी आन्दोलन पछि भएको निर्वाचनले बहुमत प्राप्त गरेको रास्वपाले अब काम गर्नु पर्ने अवस्था छ । युवा वर्गको बढी सहभागिताले पनि सरकारको कामकाजलाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ । यसले गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुने विश्वास राखेका छन्।
लगानीकर्ताले अहिले सोच–विचार गरेर उपयुक्त कम्पनीमा लगानी गर्ने अवसर पाएका छन्। रास्वपाको घोषणापत्रमा आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति उल्लेखित छ। बैंकिङ क्षेत्रको लचिलो नीति, न्यून ब्याजदर र धितोपत्र बोर्डको सक्रिय गतिविधिले दीर्घकालीन वृद्धि सम्भाव्य बनाएको छ । यसले गर्दा लगानीकर्ताहरूमा सकारात्मक भावना बढेको छ । प्रारम्भिक उत्साहलाई दीर्घकालीन लगानी रणनीतिसँग जोड्दा बजारमा स्थिर वृद्धि सम्भव देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.६७ अकंले बढेर २८७७.०२ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंकको ३.१६ प्रतिशत, विकास बैंक समूहको ३.९५ प्रतिशत, फाइनान्स समूहको १.९४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












