नेपाल टेलिकमले विश्वका ६२ देशमा प्रिपेड रोमिङ सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै अब विश्वका ६२ देशमा सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीले ८९ वटा विदेशी दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य विस्तार गरेसँगै सेवा दायरा बढेको हो।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग पनि रोमिङ सेवा विस्तारका लागि सहकार्य अघि बढाइएको जनाइएको छ।
यसअघि अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लिच्टेन्सटाइन, लक्जेम्बर्ग लगायतका देशमा रोमिङ सेवा उपलब्ध थियो। अहिले मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, फिलिपिन्स, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम लगायतका देशमा पनि सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
रोमिङ सेवा अन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। विदेश जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी भएको कम्पनीको भनाइ छ। आगामी दिनमा थप देशमा सेवा विस्तार गर्ने योजना समेत रहेको जनाइएको छ।
प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ। भारतमा भने मोबाइलबाट *१४१५# डायल गरी ‘रोमिङ’ विकल्प छनोट गर्नुपर्ने हुन्छ। पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सञ्चालनका लागि मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
नेपालमै रहँदा *१४१५# डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ भने विदेश पुगेपछि सेवा सक्रिय नभएको अवस्थामा इमेलमार्फत अनुरोध गरेर पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। त्यसका लागि कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा पासपोर्टको प्रतिलिपिसहित इमेल गर्नुपर्ने हुन्छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ। भारत बाहेक अन्य देशमा नेटवर्क स्वतः कनेक्ट हुने व्यवस्था भए पनि भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने हुन्छ। अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइलको नेटवर्क सेटिङमार्फत सेवा प्रदायक छनोट गर्न सकिने कम्पनीले जनाएको छ।












