देशभर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी, जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह

५ चैत्र २०८२, बिहीबार १६:३३

काठमाडौँ ।  देशका विभिन्न भागमा भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको संभावना रहेको छ। राष्ट्रिय विपद् जोखिम मूल्याङ्कन तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी सूचनामा चैत्र ६ गते दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ।

साथै, दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा शुक्रबारदेखि नै र पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।

प्रि-मानसुनको अवधि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायत जोखिम रहन्छ। पछिल्ला केही दिनमा हावाहुरीका घटनाका कारण मानिसहरुको मृत्यु र घाइते हुने घटना पनि भएका छन्।

प्राधिकरणले स्थानीयवासी र यात्रुहरुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले काम नपरी अनावश्यक यात्रामा ननिस्कन, घरका झ्यालढोका राम्ररी बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारी साधन चलाइरहेका भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा नआत्तिन र विस्तारै सुरक्षित स्थानमा जान सचेत रहन सुझाव दिएको छ।

हावाहुरी चल्दा कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन र विद्युतीय उपकरण नचलाउन समेत आग्रह गरिएको छ।

प्राधिकरणले आगामी दिनमा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पूर्वानुमान र प्राधिकरणका सूचना नियमित रुपमा हेर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*