नेपालमा विदेशी मुद्रा बजारलाई सुदृढ पार्न ‘विदेशी विनिमय बजार काउन्सिल’ गठन गर्न सुझाव

६ चैत्र २०८२, शुक्रबार ११:०२

काठमाडौँ । नेपालमा विदेशी मुद्रा बजारलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन स्वनियामक संरचना आवश्यक रहेको निष्कर्षसहित नयाँ अध्ययन सार्वजनिक भएको छ । बैंक अफ कोरिया अन्तर्गत गरिएको उक्त अध्ययनले नेपाल राष्ट्र बैंक लाई ‘विदेशी विनिमय बजार काउन्सिल’ गठन गर्न सिफारिस गरेको हो ।

अध्ययनले राजधानी केन्द्रित ‘काठमाडौं विदेशी विनिमय बजार काउन्सिल’ जस्तो संरचना स्थापना गरी नीति–निर्माता, नियामक निकाय र बैंक–वित्तीय संस्थालाई एउटै मञ्चमा ल्याउनुपर्ने औँल्याएको छ । यस्तो काउन्सिलले बजारका समस्या र सुझावलाई प्रत्यक्ष रूपमा नीति निर्माण प्रक्रियामा समेट्ने, समन्वय बढाउने तथा विदेशी मुद्रा बजारको दिगो विकासमा साझा जिम्मेवारी सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

हाल नेपालमा विदेशी मुद्रा कारोबार क्रमशः विस्तार भइरहेको भए पनि बजार अझै पूर्ण विकसित हुन नसकेको अध्ययनको निष्कर्ष छ । बजारलाई सुदृढ बनाउन सरकार, केन्द्रीय बैंक तथा वित्तीय क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको र प्रस्तावित काउन्सिलले त्यसको सेतुको भूमिका खेल्ने उल्लेख गरिएको छ ।

अध्ययनले दक्षिण कोरियाको विदेशी विनिमय बजार व्यवस्थापनलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ । दक्षिण कोरिया ले प्रारम्भमा अमेरिकी डलरसँग स्थिर विनिमय दर कायम राखेको थियो । तर विनिमय दर कृत्रिम रूपमा उच्च राखिँदा सन् १९९७ मा गम्भीर मुद्रा संकट उत्पन्न भएको थियो । १९९७ को एशियाली आर्थिक संकट पछि कोरियाले लचिलो विनिमय दर प्रणाली अवलम्बन गर्दै बजारको माग र आपूर्तिमा आधारित प्रणालीलाई प्राथमिकता दिएको थियो । यस अनुभवबाट अत्यधिक नियन्त्रणले जोखिम बढाउने र विनिमय दरलाई यथार्थपरक बनाउन बजारमैत्री नीति आवश्यक हुने निष्कर्ष निकालिएको छ ।

अध्ययनले नेपालले हाल अपनाइरहेको स्थिर विनिमय दर प्रणालीलाई निरन्तरता दिँदै क्रमिक सुधार गर्नुपर्ने सुझाव दिएको छ । विदेशी मुद्रा सञ्चिति पर्याप्त स्तरमा कायम राख्ने, रेमिट्यान्स बढेका समयमा सञ्चिति सुदृढ बनाउने र सम्भावित पुँजी पलायनका जोखिमलाई पूर्वतयारीसहित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सहकार्यलाई पनि महत्वपूर्ण मानिएको छ । आवश्यक परे रिजर्भ बैंक अफ इन्डिया सँग मुद्रा साटासाट सुविधा उपयोग गर्न सकिने उल्लेख गरिएको छ । हालसम्म नेपालले यस्तो सुविधा प्रयोग नगरे पनि भविष्यमा विदेशी मुद्रा अभाव देखिएमा यो विकल्प उपयोगी हुन सक्ने अध्ययनले देखाएको छ ।

अध्ययनले विदेशी मुद्रा बजारलाई अझ पारदर्शी बनाउन आधुनिक सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ । विदेशी मुद्रा कारोबारको निगरानी सुदृढ बनाउने, बैंकहरूको बाह्य ऋण तथा जोखिमको नियमित मूल्याङ्कन गर्ने र नयाँ वित्तीय उपकरणहरू विस्तार गर्ने सुझाव पनि दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*